आगलागीका कारण एकै वडाका १३ हजार सुन्तला र कफीका बोट जलेको छ। ६ दिनअघि खेतमा झारपात जलाउने क्रममा सल्केको आगोले स्याङ्जाको एउटै वडाका झण्डै ८ हजार सुन्तलाका बोट र ५ हजार कफीका बोट लगायतमा क्षति पुगेको छ।

सुन्तला खेतीको पकेट क्षेत्रमा भएको सो वडामा आगजनीले सुन्तला, कफी लगायतका फलफूल गरी अहिले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएको छ।

गएको बुधवार दिउँसो लागेको आगलागीले पुतलीबजार नगरपालिका-११ स्थित करेण्डाँडा आसपासमा रहेका ४ हजार ९७७ वटा सुन्तला फल्दै गरेका र २ हजार ६७४ वटा हुर्कँदो अवस्थाका बिरुवा जलेका छन्। कफीका पनि ठूला र सानागरी ५ हजार बोट जलेको सोही वडा कार्यालयले जनाएको छ।  यसैगरी तेजपात २५० बोट, सीताके च्याउ २५० मुडा, भूककटहर २ सय वटा, लिचि ४ बोट, आप ५ बोट र अलैची एकसय ५० बोट जलेका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए।

एउटै वडाका झण्डै २२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला जलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना कार्यालयका प्राविधिक प्रमुख इन्द्र सुवेदीले बताए। भर्खरै ससाना फल लाग्दै गरेका सुन्तलाका बोटमै आगो लागेपछि सुकेका छन्। यसवर्ष सुन्तलाबाट सोही वडामा ९८ लाख ९३ हजार भन्दा बढीको क्षति पुगेको सुन्तला सुपरजोन प्रमुख माधव लम्सालको भनाइ छ।

यसवर्षको कफीमा ५ लाख बराबर, सीताके च्याउमा २ लाख ५० हजार, अलैंची एक लाख ५० हजार, लिची ४० हजार, आप १५ हजार, भुइँकटहर १५ हजार लगायत अन्य फलफूल तथा तरकारीमा लाखौं मूल्य बराबरको क्षति पुगेको वडा कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया