कमेडी सिनेमा पछिल्लो समय नेपाली सिनेकर्मीको रोजाइ बन्दै गएको छ। चलेका नचलेका, नयाँ-पुराना प्राय धेरै निर्देशकको निर्देशनमा कमेडी सिनेमा आइसके।
‘छक्का पञ्जा’ ह्याङओभरबाट मुक्त नहुने यो सिलसिला कति तन्किने हो, त्यो हेर्न बाँकी छ। यस विधामा नगन्यलाई मात्र सफलता मिलेको छ।
शुक्रबारबाट त्यही जनराको ‘न यता न उ उता’ सिनेमा रिलिज भएको छ। डेब्यू निर्देशक मिराज रोसनले विशारद बस्नेतसँग संयूक्त निर्देशनमा सिनेमा तयार गरेका हुन्।
हरिप्रसाद (समिर दिक्षित) र श्याम भजन(मिराज रोसन) लन्डन बस्छन्। उनीहरू नेपाली रेष्टुरेन्टमा काम गर्छन् तर रेष्टुरेन्ट नचलेकाले ६ महिनादेखि उनीहरूले तलब पाएका छैनन्।लामो समय विदेशमा बसेका उनीहरूको ढल्कदों उमेर भइसक्दा पनि विवाह भएको छैन। यस्तोमा उनीहरू रेस्टुरेन्टबाट पनि निकालिन्छन्।
।
लन्डनमा हुँदा नै विवाहको लागि म्यारिज ब्यूरोको शरणमा पुगेका उनीहरूको विवाहको लागि कुरा मिलिरहेको हुँदैन्। उनीहरूकै कारण बिक्न लागेको रेष्टुरेन्ट नबिकेपछि साउले आफै टिकट काटेर उनीहरूलाई नेपाल पठाइदिन्छन्।
नेपाल आएपछि पनि उनीहरूको लक्ष्य बिहे गर्नु ने हुन्छ। यस्तैमा उनीहरूको भेट विवेक(किरण चाम्लिङ राई)सँग हुन्छ। उसले दुबैको बिबाह गराइदिने जिम्मा लिन्छ र आफ्नो गाउँ लैजान्छ। त्यसपछि घट्ने घटनाक्रम नै ‘न यता न उता’को कथा हो।
सिनेमाको कथा सरर हेर्दा ठीकठाक छ। नयाँ केहि छैन तर कमेडी सिनेमालाई सुहाउने छ। कथा सुहाउँदो सिनेमाको पटकथा भने खास छैन। खास नभएको पटकथामा अभिनय पनि खास छैन। उस्तै हेरिसकेका अभिनय पर्दामा पुनरावृत्ति भएका छन्। मूख्य समस्या मूल भूमिकामा अभिनय गरेका समिर र मिराजमा छ। मूल पात्रमा उनीहरू सिनेमाको सुरूदेखि अन्त्यसम्म असहज राख्छन्। उनीहरू पात्रभित्र छिरेको भान नै सिनेमा अवधिभर हुँदैन। दुबैको अभिनय केटाकेटी खेलेजस्तो लाग्दछ। उनीहरूको सट्टा कोही माँझिएका अनुहार खेलाउँदा कम्तिमा सिनेमा हेरून्जेल पट्यारलाग्दो हुने थिएन।
उनीहरूमा अभिनयले एक ठाउँ पनि छुँदैन। अब मूलपात्रमा अभिनय गर्नेको अभिनयले नछोएपछि सिनेमाको स्तर बुझ्न खासै कठिन हुँदैन। सिनेमा जुनकिसिमले पात्रहरूको भिड ल्याइएको छ, त्यस अनुसार उनीहरूबाट चलायमान हुनुपर्ने अवस्था सिनेमाले सिर्जना गरेको छैन्। पटकथाका थुप्रै प्रसंगहरू यसअघि रिलिज भइसकेका थुप्रै सिनेमाका कपी हुन्। सिनेमाको नियमित दर्शकले यो सजिलै खुट्क्याउन सक्छन्।
सिनेमामा समीरका अलवा माया र कालीको भूमिकामा अभिनय गरेका छुल्ठिम गुरूङ र ऋचा शर्माको अभिनय पनि खास छैन। उनीहरूले सामान्य अभिनय गरेका छन्। सिनेमा छनौटमा होशियार रहने गरेकी ऋचा शर्माको यो सिनेमा गर्न किन तयार भइन् सोचनीय छ।
त्यस्तै ‘डन’ बनेका रविन्द्र झा त राजपाल यादवको ‘पार्टनर’ सिनेमाको सस्तो कपी हुन्। कमलमणी नेपाल र जीवन भट्टराई पनि आफ्नो भूमिकामा ठीकै छन्।
एउटै अनुहारको व्यक्ति थुप्रै ठाउँमा विभिन्न हुलियामा देखिनु सिनेमाको पर्दामा धेरै पुरानो प्रयोग हो। यस सिनेमामा अभिनेता राजाराम पौडेलले पनि यस्तै भूमिकामा देखिएका छन्। अभिनय पौडेलले राम्रो गरेपनि निर्देशकहरूको यो पुरानो प्रयोगले दर्शकलाई केहि हसाउँछ तर यसका लागि उनलाई जस दिनु आवश्यक्ता छैन। धेरैजसो कुरा निर्देशकहरूले सरसापटीबाटै मिलाएका छन्।
अभिनयबाट सिनेमाको लक्ष्य प्रस्तुत गर्न निर्देशकहरू असक्षम भएका छन्। यसमा उनीहरूमा नविन सोच नहुनु एकमात्र कारण हो। सहि कलाकारको छनौट गर्न चुक्नु र पटकथामा सजिलो र हेरिसकेका शैली घुसाउनु नै उनीहरू असफलताको कारण हो।
हरेक पात्रका हाउभाउलाई वस्तविक्ता भन्दा लाउड प्रस्तुत गरेर हसाउने उदेश्यमा सिनेमा पूर्णतः असफल छ।
सिनेमा गीतमा भने केहि मेहेनत देखिन्छ तर दर्शकलाई उस्तो उम्दा असर यिनले छाडेका छैनन्। सिनेमामा क्यामराको काम ठीकै छ- न प्रशसनीय न आलोचनीय। त्यस्तै हाल सम्पादन र पार्श्व संगीतको छ।
संमग्रमा पुरानो कथ्य शैली, निरस अभिनय र प्रस्तुतिले सिनेमा कमजोर बनेको छ। सिनेमाले दर्शकको मनोरञ्जनको अपेक्षा कहिकतै पूरा गर्दैन। एक पदावलीमा भन्नु पर्दा सिनेमा आफ्नो नाम जस्तै छ- न यताको न उताको।