#मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ।
केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँकी दियाना मगरको मंगलबार मृत्यु भएको हो। प्रहरीका अनुसार उनी फडीन्द्र मगरकी छोरी हुन्। दिउँसो करिब २ः३० बजे घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसीमा भरिएको चिसो पानीमा बालिका डुबेकी थिइन्। आमा यमुना मगरले बालिकालाई भाँडोमा डुबेको अवस्थामा फेला पारेकी थिइन्।
त्यसपछि तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। तर, स्वास्थ्य केन्द्रका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए। घटनाबारे डाँडाबजार प्रहरी चौकीले मंगलबार साँझ करिब ६ः१० बजे मोरङ प्रहरीलाई जानकारी गराएको थियो।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया