युएईमा नेपाली कामदारहरुलाई निर्घात रुपमा कुटपिट गरिएको छ।  युएइको दुबईमा जबिल अलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपालीहरुलाई यसरी कुटपिट गरिएको हो। कुटपिट हुँदा पाँच नेपाली घाइते भएका छन्।

बाङ्लादेश मुलका कम्पनीका सुपरभाइजर र अरु विदेशी कामदार मिलेर नेपालीहरुलाई कुटेको पीडितहरुले बताएका छन्। ‘कोठामा ६ जना थियौं मोबाइलमा लुडो र क्यारेमबोर्ड खेलिरहेका बेला उनीहरु आएर मर्ने गरी पाइपले पिटे। कोठा बाहिर तल लगेर पनि फेरि कुटे। हामी कोठामा साथीहरु मात्र थियौं तर एक्कासी आएर किन कुटे हामीलाई पनि थाहा छैन,’ पीडित राम स्याङ्तानले भने।

‘हामीलाई पिट्ने अहिले प्रहरीबाट मुक्त भएर खुलेआम घुमेको छ । हामीमाथि अन्याय भएको छ ,कतिबेला के हुन्छ हामी त्रासमा छौं,’ उनले थपे। उनको शरीरभरी निलडाम र टाउकोमा घाउ छ । यसरी निर्घात कुटपिटमा परी घाइते हुनेहरुमा राम स्याङ्तान, बिष्णु दर्लामी, गणेश पुरी, अजय सुनारी र मान बहादुर स्याङ्तान छन्।

यो विषयमा पीडितहरुले युएईस्थित नेपाली राजदूतावाससँग गुहार मागेका छन्। उनीहरु आफूले नै दूतावासलाई फोन गरी घटनाबारे जानकारी पनि गराएका छन् । तर दूतावासले कस्तो सहयोग गर्छ वा आक्रमणकारीमाथि कानुनी कारवाहीका लागि युएईको सरकारलाई भनेको छ कि छैन भन्ने जानकारी भने पीडितहरुलाई हालसम्म दिएको छैन।

दूतावासका कुनै पनि सदस्यहरु निर्घात पिटाइमा परी घाइते भएका नेपालीहरुको अवस्था बुझ्न् हालसम्म त्यहाँ पुगेका पनि छैनन्।

त्यहाँ एउटै कम्पनीका नेपाल फर्किन नपाएर समस्यामा परेका तीन सय पचासको संख्यामा नेपालीहरु छन्। सरकारबाट पनि यो विषयमा कुनै चासो दिएको देखिँदैन।

तपाईको प्रतिक्रिया