नेपाल-भारत सीमाकाे जमुनाहा नाका हुँदै ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकाहरुको उद्दार गर्न निर्देशन दिएअनुसार बिहीबार नेपालगन्जकाे जमुनाहा नाका हुँदै उनीहरू फर्किएका हुन् ।

भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा ६ सय ८७ नेपाली आइपुगेका छन् । दुवै मुलुकका नागरिक जान पाउने भन्ने हल्लाले मानिसहरु सीमामा आइपुगेको सुरक्षा अधिकारीहरुको भनाइ छ ।

भारतको बजार रुपैडिहामा नेपाली नागरिक १४ सयभन्दा बढीको संख्यामा रहेको जानकारी गराइएको छ । उनीहरु भारतका विभिन्न शहरमा काम गरेर लकडाउनको समयमा नेपाल फर्किने बेला भारतीय सुरक्षाकर्मीले नेपाल आउन नदिएपछि उनीहरुलाई उतैको क्वारेन्टाइनमा राखिएको थियो ।

करिव ४५ दिन क्वारेन्टाईनमा बसेका नेपाली बिहीबार नेपाल आउन पाएको जानकारी गराइएकाे छ । दुवै मुलुकका सुरक्षा अधिकारीबीच एक-अर्काका देशमा क्वारेन्टाइन पूरा गरेका नागरिकलाई पठाउने र लैजाने सहमति भएपछि सोही अनुरुप उनीहरुलाई आ आफ्नो देश जाने व्यवस्था गरिएको थियो ।

भारतका विभिन्न शहरबाट घर फर्किने क्रममा क्वारेन्टाइनमा राखिएका करिब सात सय १४ जना नेपालीहरुलाई नेपाल ल्याउने भनिएको थियो । कोहलपुर नगरपालिकालगायतका क्वारेन्टाइनमा रहेका दुई सय बढी भारतीय नागरिकहरुलाई पनि भारतीय सुरक्षा अधिकारीहरुलाई बुझाइने तयारी भए अनुसार गरिएको थियो ।

एक अर्काले नेपाल भारत सिमा खुलेको हल्लैहल्लाले भीड बढेपछि सुरक्षाकर्मीहरुलाई भीड सम्हाल्न हम्मेहम्मे भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतबाट आएका सबैको आरडीटी परीक्षण गरिने बताउनुभयो ।

भारतबाट आएका सवै नेपालीहरुको आरडिटी परिक्षण गरि सम्बन्धित जिल्लासम्म पुर्याउने प्रजिअ खड्काले जानकारी गराउनुभयो । अहिले पनि उनीहरुको परिक्षण भैरहेको उहाँले  बताउनुभयो ।

यस नाकाबाट ४२ जिल्लाका नेपाली भित्रिएका छन् । बाँके, बर्दिया, दाङ र दैलेखका सबैभन्दा बढी रहेकाे बाँके प्रहरीले जनाएको छ । भारतबाट आएका नेपाली नेपालगन्ज भन्सार नाका जमुनाहामै रातभरि बसेका थिए भने आज उनीहरुको आरडिटी परिक्षण गरी गन्तव्यतर्फ पठाउने व्यवस्था जिल्ला प्रशासनले गरेको छ ।

यसैबीच, बिहीबारदेखि नै नाकामा हजारौं भारतीय नागरिकहरुको पनि भीड लागेकाे छ । उनीहरु आफ्नो देश जान आतुर देखिन्छन् । लामो समय लकडाउनका कारण उनीहरु नेपालमै बसोबास गर्दै आएका थिए ।

भारतीय नाकासँगै जोडिएको नेपालगन्ज आसपासका ठुलठुला उद्योग, कलकारखाना भारतीय नागरिकले नै धानेका हुन्छन् । लकडाउन यति लामोसम्म जान्न हाेला भनेर उनीहरु काममै लागेका थिए । लकडाउन समय-समयमा थपिँदै गएपछि उनीहरु पनि आफ्नो देश जान आँटेको एक जना भारतीय नागरिक जुबेद अहमदले सुनाउनुभयाे ।

नेपालमा हरेक वर्ष काम गर्न आउने जुवेद यसपटक धेरै दुख पाएको बताउनुभयो । लामो समय लकडाउनमा रोकिएका जुवेद घर जान पाउदा खुसी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया