सरकारले कोभिड १९ को महामारीले पारेको चौतर्फी असरलाई ध्यान दिदै रोजगार विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै कृषि उत्पादकत्वलाई उच्च प्राथमिकतामा राख्दै मुलुकको समृद्धिका लागि प्रभावकारी कार्यक्रमहरु लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा सरकारको आगामी आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पेश गर्दै ‘चिनौं आफ्नो माटो, बनाउ आफ्नो देश’ नारा अघि सार्नु भएको छ ।

कोरोना भाइरस कोभिड–१९ ले नेपालको अर्थतन्त्रको गतिशीलतालाई चुनौती दिएको उल्लेख गर्दै उहाँले हरेक क्षेत्रमा आउन सक्ने संकटलाई लागि सरकार तयार रहेको बताउनुभयो ।

विदेशमा कार्यरत ठूलो संख्याका नेपालीले रोजगार गुमाउने सम्भावना बढेको उल्लेख गर्दै उहाँले उनीहरुले रोजगारी गुमाएको खण्डमा नेपालमा नै रोजगारीको सृजना गर्नु पर्ने बताउनुभयो ।

कृषि, जलविद्युत, स्थानीय पूर्वाधार, उत्पादनमुलक कार्यक्रम, घरेलु तथा साना उद्योग र पर्यटनमा त्यो श्रमलाई प्रयोग गरी मुलुक भित्र रोजगारी सिर्जना गरिने पनि उहाँले बताउनुभयो ।

यस्तै उहाँले प्रत्येक स्थानीय तहमा रोजगार व्यवस्थापन केन्द्र स्थापना गरिने र स्नाकोत्तर गरेका विद्याथीहरुलाई पनि बिभिन्न रोजगारी मुलक कार्यक्रममा लगाइने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले अब नेपालमा कोही ‘भोकै नमर्ने र कोही पनि भोकै नपर्ने’ नारा अघि सार्दै गरिबी अन्त्यका लागि सरकारले पर्याप्त रोजगारीको कार्यक्रम ल्याउने बताउनुभयो ।

उहाँले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरी वैदेशिक लगानी भित्र्याउनका लागि पनि अनुकुल वातावरण बनाउन सरकार पछि नपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले श्रम सूचना बैंकको स्थापना गरिनुका साथै लघु उद्योगहरुको उत्पादनलाई प्राथमिकतामा राख्न स्वदेशी बस्तुको उपभोगमा जोड दिने बताउनुभयो ।

यस्तै सरकारले कोभिड १९ समस्यापछि स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने भएको छ । कोरोना भाइरसबाट कुनै पनि मानवीय क्षति नहोस् भन्न सरकार क्रियाशीले रहेको र सरकारले कारोना रोकथामका लागि गरेको प्रयास सराहनीय रहेको पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।

उहाँले प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल निर्माण गरिने बताउदै स्वास्थ्य र शिक्षाको क्षेत्रमा गुणात्मक सुधार गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।

भ्रष्टाचार मुलुकको विकासको सबभन्दा ठूलो बाधक भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचार निर्मुलीकरण गर्न सरकार दत्तचित्त रहेको पनि बताउनुभयो ।

फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने कार्यमा सरकार दृढ रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले म भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्ने भावना हरेक सरकारी निकायमा प्रबल बनाइने बताउनुभयो ।

उहाँले सरकारले आगामी आर्थिक बर्षलाई साक्षर नेपाल बर्षको घोषणा गर्दै विद्यार्थी भर्ना अभियानलाई अझ बढी प्रभावकारी बनाइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया