
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गरेको छ। शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम वाचन गरेकी हुन्।
नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विषयलाई पटकपटक सम्बोधन गरिएको छ। ती यसप्रकार छन्:
: चालीस वर्षपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निमाण गरिएको छ। आगामी वर्ष यस विमानस्थललाई पूर्णतः बुटिक विमानस्थलमा रुपान्तरण गरिनेछ।
: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी संचालनको पूर्व तयारी गरिनेछ। निजगढ अन्तर्राष्टिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ।
: थप आठ वटा आन्तरिक विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको छ। हालसम्म आठवटा विमानस्थलवाट रात्रिकालीन उडान तथा अवतरण सुरु भएको छ। आगामी आर्थिक वर्ष थप दुई वटा आन्तरिक विमानस्थलको निर्माण सम्पन्न गरिनेछ, तीन वटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिनेछ। तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण कार्य अगाडि बढाइनेछ।
: सम्भाव्य पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेशन र पर्यटकीय सेवा सुविधा भएका होटल तथा रिसोर्टका पूर्वाधार विकास गर्न प्रोत्साहित गरिनेछ। पर्यटकीय होटेल तथा रिसोर्टहरुसँग अग्र सम्बन्ध विकास गर्ने गरी स्थानीयस्तरमा अर्गानिक कृषि उत्पादनका ठूला फार्म सञ्चालनमा ल्याउन प्रोत्साहन गरिनेछ।























