सरकारले निजी र सामुदायिक अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) परीक्षणको अनुमति दिने भएको छ। आइतबार निर्देशिका जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न चाहने अस्पताललाई अनुमति दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘हामीले निजी तथा सामुदायिक अस्पतालमा आरडीटी विधिबाट परीक्षणका लागि निर्देशिका जारी गरेका छौँ’, आइतबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘मन्त्रालयबाट निर्देशिका जारी गरे पश्चात सामुदायिक र निजी अस्पतालले कोभिड-१९ सम्बन्धी आरडीटी विधिबाट गरिने परीक्षणको अनुमति लिन सक्नु हुनेछ।’

कोरोना परीक्षणको अनुमति पाउने अस्पताल सरकारको नियमअनुसार दर्ता भएको हुनुपर्नेछ। कोरोनाको आरडीटी विधिबाट परीक्षणका लागि  उपत्यककाका अस्पतालले स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका अस्पतालले सम्बन्धित प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति पाउनेछन्।

कोरोना परीक्षणको अनुमति पाएर परीक्षण सुरु गरेका अस्पतालले परीक्षणको विवरण अनिवार्य रुपमा राख्नु पर्नेछ। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आए पीसीआरका लागि रिफर गर्नुपर्ने मन्त्रालयले जनाएको छ। आरडीटीबाट आएको रिपोर्ट अभिलेखिकरण राखेर दैनिक प्रतिवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगालामा अनिवार्य रुपमा पठाउनु पर्ने व्यवस्था मन्त्रालयले जारी गरेको निर्देशिकामा छ।

‘आरडीटी विधिबाट परीक्षण गरिएको शुल्क निजी र सामुदायिक अस्पतालले लिन सक्नेछन्’, प्रवक्ता देवकोटाले भने, ‘यस्तो शुल्क उहाँहरुले खरिद गरेको मूल्यको भन्दा बढीमा २० प्रतिशतमात्र लिन सक्ने व्यवस्था निर्देशिकाले गरेको छ।’

कोरोना परीक्षणलाई सहज बनाउन यो निर्देशिका जारी भएको प्रवक्ता देवकोटाले प्रष्ट पारे।

नेपालमा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । उनी वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको स्वाब परीक्षणको  रिपोर्ट पोजिटिभ आएको छ ।

बाँकेको नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसेका दुई सय ६३ जनाको स्वाब शनिबार संकलन गरिएको थियो । मृतकका आफन्तले समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको बताएका छन् । कोरोनाकै कारण नरैनापुरमा युवकको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ नेपाली सेनालाईसमेत सुरक्षामा खटाइएको छ । उनको शवसमेत अहिले क्वारेन्टाइनमै रहेको छ । शव व्यवस्थापनको विषयमा छलफल भइरहेको छ ।

गत बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाका कारण ज्यान गएको शनिबार मन्त्रालयले पुष्टि गरेको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको हो। ३६ जना भने निको भएका छन् ।

मन्त्रालयका प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म नेपालमा पीसीआर विधिबाट २८ हजार १ सय ६० जनाको परीक्षण भएको छ । त्यसैगरी आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्ले २४ घण्टामा पीसीआर विधिबाट एक हजार ४ सय ६९  र आरडीटी विधिबाट एक हजार २० जनाको नमुना परीक्षण गरिएको छ । देशभर अहिले १८ हजार तीन सय ५७ जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा ३५ र बाहिर ३३१ गरेर तीन सय ४६ जना आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया