सुनसरीको कोशी किनारको झाडीमा लुकेर बसेका १२ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सुपौल घर बताउने सो समूहलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
लुगाफाटा र बन्दोबस्तीका सामग्रीसहितको समूहलाई नदी किनारको झाडीमा लुकेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरुले आफूहरु सुरक्षित रुपमा भारत छिर्ने क्रममा लुकेर बसेको बताएका छन् । भारत छिर्नका लागि आफूहरुले एजेन्टको सहारा लिएको उनीहरुले बताएका छन् । यद्यपि एजेन्टको परिचय भने खुलेको छैन ।
प्रहरीले दिएको जानकारी अनुसार १५ जना मध्ये ३ जना भने फरार भएका छन् । भारत छिर्न रातिको समय कुरेर बसेको उक्त समूह धरानमा काम गरी भारत सुपौल घर फर्कन लागेको बुझिएको छ । प्रहरीले उनीहरुलाई जहाँबाट आएको हो त्यही बस्ने गरी फिर्ता पठाएको जनाएको छ ।
सीमामा सुरक्षा निगरानी बढाइएको भएपनि सुनसरीको नाकाबाट रातिको समयमा मकैबारी हुँदै आउजाउको क्रम रोकिएको छैन ।























