मोरङका बेलबारीको क्वारेन्टाइनमा फ्री वाइफाई तथा खानबस्नको राम्रो व्यवस्थापन गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरू धमाधम भाग्न थालेपछि मोरङका बेलबारीको क्वारेन्टाइनहरूमा
सुविधा थपिएका हो ।

कोरोना संक्रमणको त्रास बढेसँगै रोजगारीका लागि विभिन्न देशमा गएर स्वदेश फर्केकाहरू क्वारेन्टाइनमा बसिरहेका छन् ।
क्वारेन्टाइन बसाइ सहज बनाउन वाइफाई तथा खानपानमा राम्रो ध्यान दिएर सुधार गरिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
बेलबारीमा एक सय बेडको होल्डिङ एरिया बनाइएको छ ।
ओछ्याउन म्याट्रेस, तन्ना सिरानीको व्यवस्थापन गरिएको छ भने लामखुट्टेबाट बचाउन झुल तथा गर्मी हुन नदिन पंखाको समेत व्यवस्था गरिएको छ ।
सुवेदीका अनुसार खानामा माछा, मासु, अन्डा दिने गरिएको छ ।
उनले क्वारेन्टाइनमा बस्नेहरूलाई दाँत माझ्न मञ्जनदेखि ब्रससम्म र मनोरञ्जनका लागि वाइफाईसम्मको व्यवस्था गरिएको जनाए ।
क्वारेन्टाइनमा बसेकामध्ये अधिकांश भारतबाट आएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका तथ्यांक अधिकृत सञ्जय यादवका अनुसार मोरङमा सात सय १० बेडको क्वारेन्टाइन तथा होल्डिङ एरिया बनाइएको छ ।
क्वारेन्टाइनलाई नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन् ।
क्वारेन्टाइनमा बसेकाहरूलाई योग, शारीरिक व्यायामसमेत गराइने गरेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।























