नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा मिर्गौला रोग विशेष डा. ऋषिकुमार काफ्ले चयन भएका छन्।

उपाध्यक्षमा प्रा.डा दिब्या सिंह र महा-सचिव प्रा.डा प्रेमराज ज्ञवाली चयन भएका छन्।

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको शनिबार भएको साधारण सभाले ११ जनाको कार्यकारी समिति पनि गठन गरेको छ।

सोसाइटीको कोषाध्यक्ष डा. मुकुन्द काफ्ले चयन भएका छन्। त्यस्तै, सहसचिवमा प्रा. डा. सुभाष आचार्य छन् भने सह-कोषाध्यक्षमा डा. अनिल श्रेष्ठ छन्।

सदस्यहरूमा डा. पवन चालिसे, प्रा.डा. महेश सिग्देल, डा. शैलेन्द्र श्रेष्ठ, डा. छेतेन योन्जन र डा. अरुण शर्मा छन्।

साधारण सभा सुरू हुनुभन्दा पहिला नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले मस्तिष्क मृत्युपर्यन्त गरिने अंग प्रत्यारोपणसम्बन्धी कार्यशाला गोष्ठी समेत गरेको थियो।

८० जना चिकित्सक, नर्सहरू र प्रत्यारोपण कोअर्डिनेटरको सहभागितामा सञ्चालन भएको उक्त गोष्ठीमा मस्तिष्क मृत्युको घोषणा, मस्तिष्क मृत्यु भएका बिरामीलाई अंग निकाल्दासम्म गर्नुपर्ने उपचार, बिरामीका परिवारसँग गर्नुपर्ने संवाद र अंग प्राप्त गर्ने बिरामीको लिस्ट प्राथमिकताको आधारमा कसरी बनाउने भन्ने जस्ता विभिन्न विषयमा छलफल गरिएको थियो।

मानव अंग प्रत्यारोपण समितिको सक्रियतामा नेपालमा मस्तिष्क मृत्युपर्यन्त गरिने अंग प्रत्यारोपण सेवा कसरी छिटो, छरितो र पारदर्शी तवरले अंग प्रत्यारोपण गर्ने भन्ने सम्बन्धी कार्यनिर्देश छिट्टै नै प्रकाशनमा ल्याउन लागेको सोसाइटीका महा-सचिव प्रा. डा. प्रेमराज ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया