काठमाडौं, १ असोज । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ । पूजा शुरु गर्नुअघि मेशिनरी, सवारी साधनलगायतको राम्रोसँग सरसफाइ गर्ने गरिन्छ ।

त्यस्तै आजको दिनलाई वास्तु दिवसका रूपमा समेत लिँदै वास्तुसम्बन्धी कामको शुरुआत गर्ने प्रचलन छ । सवारी साधनमा आजको दिन पूजा गर्नाले वर्षभर दुर्घटनालगायतका समस्याबाट मुक्त भइने विश्वासका साथ घर–घरमा विश्वकर्माको पूजा गरी सवारी साधनमा टीका लगाएर ध्वजा बाँध्ने प्रचलन छ । यातायात व्यवसायीले पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको परिसरस्थित विश्वकर्मा बाबाको मन्दिर र अन्यले शक्तिपिठमा पूजाअर्चना गर्ने गर्दछन् ।

नयाँ उद्योग तथा कलकारखाना शुरु गर्नेले आजकै दिनबाट आफ्नो व्यवसाय शुरुआत गर्ने गरेका छन् । विभिन्न उद्योगमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिने भएकाले झण्डै एक महीना अगावैदेखि मूर्तिकारलाई भ्याइनभ्याइ हुने गर्दछ ।

मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो ।

पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गरिने चलन छ । ठूला–साना सबै कलकारखानामा विश्वकर्मा पूजनोत्सव मुख्य पर्व मानिँदै आइएको छ ।

यस पर्वमा कारखाना वा कुनै पनि उद्योगमा काम गर्ने कामदारलाई सञ्चालकले विशेष भोजन गराउने, बोनस दिने र नयाँ वस्त्र दिने परम्पराले श्रमिकका लागि यो पर्व खास अवसर पनि बनेको कारखाना र उद्योगका कामदार बताउँछन् । यो पर्वका अवसरमा दारीकपाल सेताम्य फुलेको आकृतिका श्री विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक–चोकमा स्थापित गरिएका छन् ।

झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चारहातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएका प्रतिमामा देखिन्छ । कैयौँ ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला र विशेष नाचगान कार्यक्रम आयोजना गरिएका छन् ।

सत्ययुगमा देवता र दैंत्यले संयुक्तरूपमा समुद्रमन्थन गर्दा उत्पत्ति भएका विश्वकर्मालाई ब्रह्माले ज्यावलको संरक्षण र उपयोग गराउने जिम्मेवारी दिएको बताइन्छ । आज असोज सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआराधनाले ज्यावल खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया