विराटनगर । झापाको कमल गाउँपालिकाको केर्खामा बुधबार साँझ भएको सवारी दुर्घटना भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ ।

पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि बिहीबार बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा सर्वपक्षीय बैठक ४ बुँदे लिखित सहमति गरिएको हो ।

पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने , जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कार्वाही लागि माग गर्ने , त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रकृया पुरा गर्नका लागि भइरहेको अवरोध हटाई अगाडि बढ्ने सहमति भएको हो । पिडित पक्षसँग सहमति भएपछि आज बिहान ५ बजेदेखि पूर्वपश्चिम राजमार्ग सुचारु भएको र हालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र १–१ ख ४३३१ नम्बरको रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई हिजो साँझ ५ः३० बजे रात्रिबसले ठक्कर दिएको थियो । दुर्घटनामा मनोज इजमकी अन्दाजी ९ वर्षकी छोरी कृपा इजम र उनका बुवा ६० वर्षीय टेकबहादुर इजमको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया