विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठा पाठनमा सक्रिय भएका हुन् । बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गर्ने गरिएका बेटर ब्रिक नेपाल परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले जानकारी दिइन् ।
एकीकृत हातेमालो समाज नेपालको साझेदारीमा मोरङका इँट्टा उद्योगमा बेटर ब्रिक नेपाल परियोजना संचालित छ । ग्लोवल फेयरनेस इनिसियटिभको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१६ देखि मोरङको रंगेली–३ र धनपालथान–६ मा अवस्थित दुईवटा इँट्टा उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई लक्षित गरि परियोजना संचालनमा आएको छ । 
इँट्टा उद्योग हुने बाल श्रम रोक्न समेत भुमिका खेल्ने गरि काम भईरहेको ताम्राकारले बताईन् ।  ४ सय ७३ जना कामदार तथा नाइकेहरूलाई बाल श्रममा, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको बारेमा जानकारी दिईएको छ । बालश्रम, बाध्यकारी श्रमको अन्त्य, स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको छ ।
भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँट्टाको प्रयोग हुँन्छ तर भट्टा भित्र के हुँदैछ भनेर कसरी काम हुन्छ भन्ने समेत जानकारी राख्दैनौ । तर त्यहाँको अबस्थाको बारेमा परियोजनाले काम गर्ने बताए ।
“खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँट्टा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,” ताम्राकारले भनिन्, “त्यसैले बालश्रम, इच्छाविपरीत तथा जबरजस्ती श्रम, अमानवीय व्यवहारलगायत नभएको इँट्टा उत्पादनमा हाम्रो जोड हो ।”
इँट्टा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न सन् २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो । परियोजनाले सफा इँट्टा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दै आएको छ । उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ । जसबाट सफा इँट्टाका उपभोक्ताहरूलाई सामाजिक तवरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँट्टा उत्पादनको प्रत्याभूत गरिन्छ । 
परियोजनाले ४० वटा इँट्टा उद्योगमा काम गरिरहेको छ । हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको समाजका अध्यक्ष डिल्लीराम गिरीले बताए । कामदार, उद्योगी र नाइकेबीच त्रिपक्षीय श्रम सम्झौता गर्न सहयोग, इँट्टा उद्योगमा कार्यरत कामदारका ५ वर्षमुनिका बालबालिकाहरूलाई बाल विकास तथा शिक्षा केन्द्र स्थापना गरी सुरक्षित वातावरणको व्यवस्था गर्ने तथा ६ देखि १४ वर्षका बालबालिकालाई नजिकको विद्यालय भर्ना, इच्छाविपरीत तथा करकापपूर्ण काम र बालश्रम निवारण, उद्योग परिसरमा कामदारहरूको लागि आवश्यक आवास, स्वास्थ्य सरसफाई तथा खानेपानी तथा सुरक्षाको सम्बन्धमा कामदारहरूलाई सचेत गर्ने काम समेत हुँदै आएको छ । गुनासो सुनुवाई समिति, कामदार समिति गठन गरी कामदारका समस्याहरूलाई समाधानका लागि पहल, उद्योगका उद्योगी, नाइके तथा कामदारहरूलाई परियोजनाको महत्व सिद्धान्तहरू र बालश्रम निवारणसम्बन्धी तालिमहरू सञ्चालन गर्नु परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया