विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ ।

महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा शुक्रबार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो ।

डेंगुको संक्रमण कसरी हुन्छ, डेंगुलाई कसरी नियन्त्रण गर्न सकिन्छ, डेंगु लागेमा के गर्नेलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादव र स्वास्थ्य अधिकृत रमेश कार्कीले डेंगु नियन्त्रणमा महानगर प्रहरी र सफाई कर्मचारीको भूमिकाका विषयका विषयमा अवगत गराउनुभएको थियो । साथै उहाँहरुले डेंगुको संक्रमण रोक्न के-के गर्नुपर्छ भन्ने विषयमा पनि जानकारी गराउनुभयो ।

सफाई शाखाका सुपरभाइजर र महानगर प्रहरी सहभागी अभिमुखीकरणले डेंगु नियन्त्रणमा ठूलो मद्दत पुग्ने स्वास्थ्य महाशाखाका संयोजक यादवले बताउनुभयो । मेयर नागेश कोइरालाको निर्देशनमा डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै लगेको यादवले जानकारी दिनुभयो । मनसुनसँगै देशका विभिन्न स्थानमा डेंगु संक्रमण व्यापक बन्दै गएकाले महानगरले पनि पूर्वतयारी गरेको यादवको भनाइ थियो । सफाई कर्मचारी र महानगर प्रहरी फिल्डमा खटिने भएकाले डेंगु नियन्त्रणमा उहाँहरुको भूमिका महत्वपूणर् हुने स्वास्थ्य अधिकृत कार्कीले बताउनुभयो । सचेतनामूलक ब्यानर बनाएर सफाई कर्मचारीमार्फत सबै वडामा वितरण गरिनेछ । फ्रिज, कुलर, वासिङ मेसिन, टायरलगायत जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गरेको छ ।

एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु, आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दु:ख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरु देखापर्नेजस्ता डेंगुका लक्षणहरु देखिने चिकित्सकहरुले बताउँदै आएका छन् । चिकित्सकका अनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ ।

संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने चिकित्सकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया