नर्स ममता भट्ट काफ्लेको शव लुकाइएको आशंकामा प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले नरेश भट्टको घरमा जाँचपड‍्ताल गरेका छन्।श्रीमती बेपत्ता पारेर शव लुकाउने जघन्य आरोपमा जेलमा रहेका भट्टको घरमा थप केही महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

अमेरिकी सञ्चारमाध्यम फक्स ५ डिसीका अनुसार प्रहरीले महत्वपूर्ण प्रमाण फेला परेको तर खोल्न नमिल्ने बताएका छन्।  उक्त समाचार संस्थालाई मानासस पार्कका पुलिस प्रमुख मारियो लुगोले इमाले भनेका छन्,  ‘हामीले ममताका लागि धेरै खोजीहरू सञ्चालन गरेका छौं र उनको खोजी जारी राखेका छौं। आज, हामीले थप प्रमाणहरूको लागि निवासमा अर्को खोजी वारेन्ट कार्यान्वयन गरेका छौं। हामीले खोजिरहेका प्रमाणहरू अहिले खुलासा गर्न मिल्दैन। हामीले प्राप्त सुझावहरूको पालना गरिरहेका छौं। र यस केसको अनुसन्धान जारी छ,’ उनले भनेका छन्।

उक्त घर खोजपड्ताल करिब तीन घण्टा चल्यो। ममताको शव अहिलेसम्म फेला नपरेकोले भट्टमाथि शव लुकाएको आरोप लगाइएको छ। प्रहरी र समुदाय दुवैले ममतालाई खोज्ने अभियान जारी राखेका छन्। ममताकी साथी नादिया नावारोले उनलाई खोज्न  फेसबुक समूह सुरु गरेकी थिइन्। नेवारोका अनुसार लाउडउन काउन्टी र मेरील्याण्डमा खोजीहरू विस्तार गर्ने योजना छ।

तपाईको प्रतिक्रिया