आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ ।

प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ । यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ । यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो ।

साँझ र बिहान बिजुलीको बढी माग भएपनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन । रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पहिलो महिनामा नै प्राधिकरणले उक्त मूल्य बराबरको बिजुली निर्यात भएको विवरण सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया