विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले प्रदर्शन गरेका छन्।

रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्।

मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने माग सिटी सफारी चालकहरुको माग रहेको छ। सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरेको छ । कोशी राजमार्ग अन्तर्गत गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । यसका लागि यस अघि नै विराटनगर महानगरपालिकाले माईकिङ्ग समेत गरिसकेको जनाइएको छ ।

सफारी संख्या दिनहुँ बढीरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गरिएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारीको लागि अब राजमार्ग वारिपारी गर्न केही निश्चित स्थान तोकिन्छ ।

यसलाई प्रभावकारी कार्यान्वयन तर्फ हामी लाग्ने छौँ ट्राफिक प्रमुख न्यौपानेको भनाई छ । यसका साथै नयाँ नियम लागू भएपछि भने दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया