विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ।

७७ लाखको लागतमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको हो।

ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान गरिदै छ । पहिलो चरणमा कन्चनबारी,घास चौक,रोडशेष, जलजला चौक र तिनपैनी चौकमा ट्राफिक लाइटको कार्य धमाधम भईरहेको छ। बजेटको सीमाका कारण पहिलो चरणमा पाँच स्थानमा मात्रै ट्राफिक लाइट जडान भएको महानगरले जनाएको छ।

उक्त ट्राफिक लाइट जडानको कार्य २०८१ साल असोज मसान्तसम्म सकिने महानगरको दाबी छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन्। यी सवारी साधनको व्यवस्थापनका लागि दैनिक ४० जना ट्राफिक प्रहरी खटिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३:३० बजेदेखि बेलुका ६ बजेसम्मको समयमा विराटनगरको सडक अत्यधिक व्यस्त हुने गरेको छ। यस समयमा लामो जाम र दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीले जनाएको छ।

महानगरले ट्राफिक लाइट जडान गरेपछी विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुने छ। जसले ट्राफिक व्यवस्थापनमा समेत सहज हुने देखिएको छ।

तपाईको प्रतिक्रिया