झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् ।
उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता परिवारले रिबन काट्ने कैँची खोसेका छन् ।स्वास्थ्य केन्द्रको कर्मचारी नियुक्तिमा चलखेल गरेको र कर्मचारी छनोटमा जग्गादाताको सन्तानलार्ई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ ।
स्वास्थ्य केन्द्रका लागि गाउँपालिकाले आवेदन माग गरी खुला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गरेको थियो ।
त्यस परीक्षामा गौरीगञ्ज ५ का वडा अध्यक्ष विजयसिंह गनगाईकी छोरी उत्तीर्ण हुन सकिनन् । गाउँपालिका अध्यक्ष राजवंशीले रिबन काट्नै लाग्दा वडा अध्यक्षका दाजु गुरुदेव गनगाईलगायतले होहल्ला गरी कार्यक्रमलाई बिथोलेका थिए ।
वडा अध्यक्ष गनगाईले छोरीलाई जागिर नदिएको रिसमा गाउँका महिलालाई उचालेर कार्यक्रम बिथोल्न लगाएको बताइन्छ । वडा अध्यक्ष गनगाईसहित उनका परिवारले स्वास्थ्य केन्द्र स्थापनाका लागि २०७४ सालमा जग्गा दान दिएका थिए ।

तपाईको प्रतिक्रिया