विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस बिहीबार (आज) सहभागी हुने भएको छ ।
कांग्रेस प्रदेश संसदीय दलका नेता तथा पार्टी कोशी प्रदेश सभापति उद्धव थापाले सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका हुन् ।बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको बताए ।
केन्द्रबाट नाम आउनेबित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने उनले बताए ।‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछ,’ सभापति थापाले भने ।
थापाले कोशी प्रदेशमा कांग्रेसले चार मन्त्रालय पाउने बताए । मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको जानकारी दिँदै दुवै पार्टीबाट दुई–दुई जना राज्यमन्त्री राखिने सहमति भएको उनले जानकारी दिए।
तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागी भएको केही समय पछि मन्त्रालयको संख्यासमेत बढाउन सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया