विराटनगर / एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आज समापन भएको हो ।

कोशी र मधेश प्रदेका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी लगायत अन्य सर्वसाधारणले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।

कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिस भई आएका ८ सय कृषक, विद्यार्थीलगायतलाई दैनिक निःशुल्क खाना तथा ३ सय जनालाई निःशुल्क आवाससमेत व्यवस्था गराएर एक्स्पोमा सहभागी गराएको आयोजकले जनाएको छ ।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको परिचय तथा प्रयोग र पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति गरिएको थियो ।

एक्स्पोमा आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगरसहित विज्ञहरुबीच प्यानल छलफल भएको थियो । छलफलमा भारतीय विज्ञ डा.कञ्चन भौमिक, कृसेन्दु सिन्हा र डा.सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोगबारे जानकारी गराएका थिए ।

एक्स्पोमा पूर्वाञ्चल विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयले कृषि सम्वन्धी विषयमा काउन्सिलिङ पनि गरेका थिए । एक्स्पोमा नेपाल र भारतका गरी १३० वटा स्टल रहेका थिए । आयोजक नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षमा थप परिमार्जनसहित एक्स्पो आयोजना गर्ने जनाएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, कृषि तथा सहकारी मन्त्री प्रतापसिं हाङ्गामले किसानहरुलाई आधुनिक कृषियन्त्र, उपकरण र औजारहरुको बारेमा जानकारी दिन, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीका हिसाबले पनि एक्स्पो महत्वपूर्ण रहेको बताए ।

प्रदेश सरकारले आगामी दिनमा यस प्रकारको एक्स्पोलाई प्राथमिकतामा राख्ने र किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने मन्त्री हाङ्गामले बताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले मन्त्रालयको नाम अनुसारकै काम कृषि एक्स्पो मार्फत भएको भन्दै खुसी व्यक्त गरे । उनले कृषिलाई औद्योगीकरण नगरेसम्म कृषिको विकास नहुने भन्दै प्रदेश सरकारले कृषिको औद्योगीकरणका लागि सहयोग गर्ने बताए । मन्त्रालय र मन्त्रालयमा रहेको सहज परियोजनाले निरन्तर यसमा काम गरिरहेको र यो एक्स्पोमा पनि सहज मार्फत मन्त्रालयको निरन्तर सहभागिता रहेको बताए ।

एक्स्पो आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो उद्देश्यमा सफल भएको बताए ।

तपाईको प्रतिक्रिया