मोरङको पथरीमा घरभित्रै पुरुषको हत्या, ज्वाईं फरार
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा आफ्नै घरभित्र १ जना पुरुषको हत्या भएको छ ।
प्रहरीका अनुसार हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर ६० वर्षीय चन्द्रबहादुर तामाङको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दिए ।
‘रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको छ,’ उनले भने, ‘मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन् ।’ दाहालका अनुसार शवनजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा पनि फेला परेको छ ।
घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेजस्तो देखिने डीएसपी दाहालले बताए । स्थानीयले घटनाको जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानमा डीएसपी दाहाल आफैं खटिएका छन् ।
घटनास्थल पथरी बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ । घटनापछि चन्द्रबहादुरका छोरी ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार रविन ससुराली घरमा बस्दै आएको खुलेको छ । घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ । चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । उनका अनुसार दुवै जना (ज्वाईं ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘ज्वाईं र ससुराले सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । गयराति पनि मदिरा सेवन गरेको पाइयो,’ दाहाल भन्छन्, ‘मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने देखिन्छ । यद्यपि, रविन फेला नपरेका कारण घटनाका बारेमा स्पष्ट भइसकेको छैन ।’ उनका अनुसार चन्द्रबहादुर र रविन दुवै जना ज्यामी काम गर्थे ।
All reactions:

Betana Dainik and 78 others

तपाईको प्रतिक्रिया