सप्तरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझदेखि सवारीसाधन चल्न थालेका छन्।

कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लाष्टिक र दाउरासहितका फोहोर सफा गरिएकाले यातायात सहज भएको उनले बताए।

‘कोशीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाटपुल भएर आउजाउमा रोक लगाइएको थियो’, उनले भने, ‘आइतबार बिहानबाट कोशीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ।’

कोशीको पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न आठ घण्टा लागेको थियो। सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ। कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ। कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार ४१५ क्यूसेकमा झरेको छ।

पूर्वी-पहाडी तथा मधेशसहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो।

All reactions:

27

तपाईको प्रतिक्रिया