मोरङका खोला र पैनीमा भेटियो ३ जनाको शव
मोरङ । खोलाले बगाएर ल्याउँदै गरेको र डुबेर मृत्यु भएको अवस्थामा मोरङका अलगअलग स्थानमा सोमबार ३ जनाको शव फेला परेको छ ।
कानेपोखरी र ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा शव भेटिएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार वृद्धसहित २ जना पुरुष र १ जना महिलाको शव भेटिएको हो ।
विराटनगरको सिंघिया खोलामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन । कानेपोखरी र ग्रामथानमा मृत भेटिएका दुवै पुरुषको पहिचान खुलिसकेको छ ।
कानेपोखरी गाउँपालिका–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना वृद्ध पुरुषको शव फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए ।इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार मानिसलाई खोलाले बगाइरहेको देखेपछि स्थानीयले दिउँसो १ बजेतिर बाहिर निकालेका हुन् । खोलाबाट निकालेर हेर्दा मृत्यु भइसकेको पाइएको उनले बताए ।
प्रहरीका अनुसार कानेपोखरी–४ स्थित माइली छोरीको घरमा आएका राई ५ दिनदेखि सम्पर्कविहीन थिए । छोरीकोमा खाना खाएर आफ्नो घरतिर फर्किएका उनको खोलाले बगाउँदै गर्दा शव फेला परेको जानकारी डीएसपी दाहालले दिए ।उनका अनुसार तर्न खोज्दा वृद्धलाई डाँस खोलाले बगाएको हुनसक्छ । घटनास्थलबाट करिब साढे ३ किलोमटिर तल शव फेला परेको प्रहरीले जनाएको छ ।‘घर फर्किने क्रममा तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको हुनसक्ने आशंका छ । ५ दिनसम्म कतै अड्किएको थियो होला’ दाहालले भने, ‘बगाउँदै गरेको देखेपछि स्थानीयले बाहिर निकालेर हेर्दा मृत्यु भइसकेको रहेछ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।’
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र येक्तेनको नेतृत्वमा टोली खटाइएको छ । इन्स्पेक्टर येक्तेनकै टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
त्यस्तै, विराटनगरमा पनि सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका–८ हाटखोलामा शव भेटिएकी अन्दाजी ३० वर्षीयाजस्तो देखिने महिलाको पहिचान नखुलेको डीएसपी वेदप्रकाश जोशीले बताए ।
बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाको बीचबाट दिउँसो १२ः४५ बजेतिर शवलाई बाहिर निकालेका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोली परिचालन गरिएको छ ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याएको छ । मृतकको चिउँडोमा चोट देखिएको छ । खोलाले बगाएर मृत्यु भएको हुनसक्ने डीएसपी जोशीले बताए । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।यसैबीच, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घरनजिकैको पैनीमा मृत फेला परेका छन् । उनी माछा मार्न भनेर आइतबार घरबाट हिँडेका थिए । भोलिपल्ट शव भेटिएको हो ।
फर्किएर नआएपछि खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पैनीमा डुबिरहेको अवस्थामा शव फेला परेको जानकारी डीएसपी जोशीले दिए । उनका अनुसार भगत बिहान ९ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोली घटनास्थल पुगेको थियो । खत्री नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए । उनका अनुसार पैनीमै डुबेर भगतको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया