केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले सुनसरी जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्याएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा मात्र करिब ४० बिघा जमिनमा धान रोपाइँ भएको थियो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिन थालेको छ । किसानले वार्षिक रुपमा मजदुरको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका छन । सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ ।
यसैबिच कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका छन । सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका छन ।
बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको छ । दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रा लगायत तरकारी बालीमा बाढीले क्षति पुर्याएको छ ।