मोरङका अलगअलग स्थानमा बुधबार बिहान र मंगलबार साँझ दुई जना मृत फेला परेका छन् । विराटनगरमा एक पुरुष र कानेपोखरीमा एक जना महिला मृत फेला परेका हुन् ।
विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान ७ः३० बजेतिर मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेको छैन ।
सडक छेउमा मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । मृत फेला परेका पुरुष केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागीखाइ हिँड्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको डीएसपी जोशीले बताए । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।
त्यस्तै, कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा एक जना महिला मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । नीरकुमार राईकी पत्नी ५१ वर्षीया शान्ता राई ओछ्यानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।
उनका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा साँझ ५ः५० बजेतिर महिलालाई मृत फेला पारिएको हो । घटनास्थल सुरक्षित राखिएको छ । बाहिर रहेकी मृतककी छोरी आइसकेपछि शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिने जानकारी दाहालले दिए । महिलाको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उनले बताए ।