इटहरी /  इटहरी वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार ७५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ। विद्यालयको ६९औं वार्षिकोत्सवका अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई दाताहरूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट रु. १,३७,०४२ बराबरको छात्रवृत्ति वितरण गरिएको हो।

विद्यालयले हालसम्म ७५ जना दाताबाट रु. २०,८८,७७१ बराबरको अक्षयकोष स्थापना गरेको छ। अघिल्लो वर्ष ६८औं वार्षिकोत्सवमा रु. १८,५८,८६० को अक्षयकोष ब्याजबाट रु. ९८,२७३ वितरण गरिएको थियो। विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार यस वर्ष थप २९ जना दाताले अक्षयकोषमा रकम योगदान गरेका छन्।

कार्यक्रममा दुई जना पूर्व जनप्रतिनिधि लालबहादुर लुइँटेल र विष्णुलाल चौधरीलाई मरणोपरान्त सम्मान गरिएको थियो। साथै, अक्षयकोषमा योगदान गर्ने २२ जना पूर्व विद्यार्थी, पाँच जना दाता, र निवर्तमान व्यवस्थापन समितिका सदस्यहरूलाई सम्मान गरिएको छ।

वार्षिकोत्सवमा उत्कृष्ट अभिभावक, सफासुग्घर विद्यार्थी, र सात जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरियो। आर्थिक वर्ष २०८०/८१ मा विद्यालयको आय रु. ४,७२,१८,८९८ र खर्च रु. ४,६६,४६,८६० भएको विवरण पनि सार्वजनिक गरियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले आगामी योजनामा पक्की भवन निर्माण, खेलमैदान स्तरोन्नति, सिसि क्यामेरा जडान, थप दुईवटा बस, शुद्ध पिउने पानीको व्यवस्था, र स्मार्ट शिक्षक कार्यक्रम लागू गर्ने घोषणा गरे।

वार्षिकोत्सवको अवसरमा ५१ खेलकुद इभेन्ट सञ्चालन गरिएका थिए। विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन, शिक्षा, र हालै सुरु गरिएको होटल म्यानेजमेन्ट पढाइ सञ्चालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया