विराटनगर / विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबारराति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार पैदल हिंडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गुरुङको साथबाट पेस्तोल फेला परेको हो ।

मदिराको नसामा लट्ठ रहेका युवाले आफूले नचिनेका व्यक्तिले जोगवनी बसपार्कबाट एउटा झोला नेपालसम्म पु¥याइदिन आग्रह गरेको तर झोलामा हतियार रहेको कुरा आफूलाई थाहा नभएको प्रहरीलाई बताएका छन् । प्रहरीले गुरुङ साना हतियारको कारोबार गर्ने गिरोहको भरिया भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

गुरुङ विरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । डीएसपी खिँउजुकाअनुसार पक्राउ परेका युवाले दिएको सूचनाका आधारमा हतियार कारोबारीको खोजी भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया