काठमाडौं– डडेल्धुरामा ९ दिन अघिदेखि अनसनरत डा. केसीले अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।

भारतले नेपालको भूभागलाई आफ्नो नक्सामा पारेको तथा नेपाली सिमा मिचिएको विषयमा आफू निकै दुखी भएको भन्दै अनसन समेत तोडेको डा. केसीले बताएका छन्

डा केसीले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि सत्याग्रहमा रहेको समयमा भारतले निकालेको नयाँ नक्सामा नेपाल पश्चिमी क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको खबरले आफु स्तब्ध भएको बताएका छन् ।

डा केसीले भारतीय प्रधामन्त्री मोदीलाई राष्ट्रिय सुरक्षा संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो रहेको भन्दै नेपाल मजबुत र समृद्ध भएमात्र भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्ने बताएका छन् ।

उनले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै नेपालसँग भएको सीमाको समस्या कुटनीतिक छलफलबाट समाधान गर्न पत्र मार्फत आग्रह गरेका छन् ।

डा केसीले भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन् ‘नेपालसँग  हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु ।’

डा केसीले भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको पत्र आजै नेपालस्थित भातरिय राजदूतावस मार्फत पठाइएको छ ।

डा केसीका सहयोगी प्रीतम सुवेदीले नेपालस्थित भारतीय राजदूतावासमा पुगेर डा केसीले लेखेको पत्र भारतीय प्रधानमन्त्रीसम्म पुर्‍याइदिन अनुरोध गरेका हुन् ।

पत्रको व्यहोरा यस्तो छ-

श्री नरेन्द्र दामोदरदास मोदी,
प्रधानमन्त्री, भारत गणराज्य

कुशल छौं र यहाँको कुशलता चाहन्छौं ।

भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा
बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा
विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो ।

त्यसपछिको अवधिमा ब्रिटिश इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतारचढाव आए पनि जनस्तरमा
मैत्रीपूर्ण आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध कायम छ । धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ
भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ । नेपाल र भारत मात्रै नभई पाकिस्तान र
बंगलादेशजस्ता अरु छिमेकी देशका पनि भुइँ तहका मानिसहरुका पीडा उस्तै छन् । गरिबी, अशिक्षा र रोगजस्ता साझा
समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिकहरु जुधिरहेका छन् । भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै
देशका नागरिकहरुका साझा समस्या हुन् ।

सन् २००१ को भुकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएृको थिएँ । त्यस्तै
सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको
थिएँ । त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको
पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु ।

अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर यही बीच समाचार आएको छ
कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको
छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु ।

कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर सामान्य नागरिकको हैसियतले मैले
जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ ।

नेपालमा भारतका अनेक सरोकार होलान् । खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको
गहिरो चासो छ भनिन्छ । तर नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ ।

अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् । विश्वका धेरै ठाउँमा उन्मुलन जस्तै भएका धेरै संक्रामक
रोगहरुको ठूलो भार हामीकहाँ छ । अशिक्षित र निरक्षर मानिसहरुको ठूलो संख्या पनि यसै क्षेत्रमा छ । अपेक्षित गतिमा

अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ । आज हजारौं माइल टाढा मरुभुमिमा
जोखिमपूर्ण काममा न्युनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन् ।

त्यसैले यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरु मिलेर लड्नु जरुरी छ ।
त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट
समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु ।

डा गोविन्द केसी
डडेल्धुरा, नेपाल
१२ नोभेम्बर, २०१९

 

तपाईको प्रतिक्रिया