बिराटनगर / वेश्यावृतिमा लगाउनका लागि महिलालाई भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्याउँदै महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाज पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रियाज विराटनगर महानगरपालिका–१५ रानीमा रहेको हिमाल गेष्ट हाउसका कामदार हुन् ।

नेपालमा राम्रो कमाई हुने भन्दै प्रलोभनमा पारेर उनले भारतबाट आर्थिक अवस्था कमजोर भएका महिलालाई नेपाल ल्याउँदै करकाप र प्रभावमा पारेर होटल तथा गेष्ट हाउसमा वेश्यावृतिमा लगाउने गरेको खुलेको खिँउजुको भनाइ छ ।

उनले भारत फारविसगञ्ज घर भएकी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका रियाज विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । रियाजले ती महिलालाई राम्रो कमाई हुने प्रलोभन देखाएर केही दिन अघि विराटनगर ल्याएको खुलेको डीएसपी खिँउजुको भनाइ छ ।

तपाईको प्रतिक्रिया