मोरङको उर्लाबारी २ स्थित बेतनी सामुदायिक वन भित्र रहेको टहरा निमार्ण गरि बनाएको ९ वटा ‘छाप्रो होटल’ मा बुधबार मध्यराती अज्ञात समूहले आगो लगाइ दिएका छन् ।

२७ वटा फुसको छानो लगाएर बनाएको छाप्रो होटल मध्ये ९ वटा टहरा भएको होटल जलेर पूर्ण रुपमा नष्ट भएको बेतनी सामुदायिक वनका अध्यक्ष भिम राईले जानकारी दिए ।

‘बधुबार राती मध्ये राती ११ बजे सिमसार भित्र रहेको टहरामा आगोलागी भएको स्थानियले देखेका थिए,’ अध्यक्ष राईले भने, ‘बेलैमा आगोलागेको देखपछि अन्य टहरा जोगियो ।’ स्थानियबासीको सहयोगले अन्य टहरा आगोलागी हुनबाट जोगिएको छ । ९ वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएको उनले बताए । बेतनी सिमसार भित्र वर्षेदेखि टहरा बनाएर होटल गर्दै आएका उर्लाबारी २ का जिना तामाङ्ग, कुमार धिमाल, लक्ष्मी धिमाल, चक्र माझी, कम्पनी धिमाल, उमेश मगरलगायतको टहरा जलेर नष्ट भएको हो ।

मध्यराती आगोलागी गर्ने समूह अहिलेसम्म खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गर्दै आएको इलका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । बंगुरको पोलेको सेकुवा पारखीहरूको लागि यो ठाउँ निकै चर्चित छ । घुमफिर गर्नका लागि मनमोहक बगैँचा र संरक्षित सिमसार ताल भएको यहाँ दैनिक सयौँ आन्तरिक पर्यटन घुमफिर गर्न आउने गरेका छन् । हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म यहाँ रहेको होटल चल्ने गरेको थियो । बंगुरको सेकुवा मासु सँगै तोङबा तान्ने र बियर रक्सी पिउनका लागि यो बजार लोकप्रिय बनेको थियो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने मंगलबारे बजारबाट करिब दुई किलोमिटर उत्तरमा पर्ने बेतिनी सिमसार घुमफिर गर्न आउनेहरुका लागि दश वर्षदेखि वनभित्र हरेक दिन साँझ ५ बजेसम्म मात्र अस्थायी होटलहरु संचालन गर्न दिँदै आएको थिए ।

तपाईको प्रतिक्रिया