उदयपुरको बेलका नगरपालिका- ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झ डप भएको छ। झ डपपछि स्थानीयले चक्काजाम गरेका छन्।

एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्। झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ।

सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो।

‘नगरपालिका र स्थानीयबीचको छलफल नमिलेपछि टिपरलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको हो

सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो। छलफलमा सिसुवा खोला र गिदेरी खोलाबाट अहिलेलाई ढुंगा लाने काम स्थगन गर्ने सहमति भए पनि टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने विषयमा सहमति जुट्न नसकेको छलफलमा सहभागी रमेश आचार्यले बताए।

छलफल नमिलेपछि नगरपालिकाले विषय टुंगो लगाउन जिल्ला प्रशासन कार्यलयलाई जिम्मा दिएको थियो।

‘सात दिन भइसकेको थियो टिपर राकेर राखेको। त्यसैले कानुनअनुरूप नै हामीले सोमबार राति टिपरलाई जिल्ला प्रहरी कार्यालय ल्याएका हौं,’ प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेको थियो।

गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ। जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ।

तपाईको प्रतिक्रिया