धरान / भोजपुरको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तनको मुन्टा(निप्पल) काटिएको घटना सुन्दा जति आश्चर्य छ, उति नै रहस्यमय पनि बनेको छ ।

घटना षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा हिजो बुधबारको हो । लुगा धुन खोलामा गएकी ती ३३ बर्षीय महिलालाई २ जना अपरिचितले मुखुण्डो ओढेर स्तनको मुन्टा(निप्पल) काटिदिएको बताइएको छ ।

पीडित महिलाले प्रहरी समक्ष पनि विस्तृत खुलाएकी छैनन् । जसले गर्दा घटना रहस्यमय बनेको छ । उनको हाल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उनको झण्डै ६ महिनाको बच्चा छ । अहिले उनको आफन्तलाई ती बच्चालाई दुध खुवाउन समस्या भइरहेको छ । बच्चालाई दुधदानीबाट दुध पिलाइरहेको महिलाकी देवर पर्ने आफन्तले जानकारी दिए । उनको ७ बर्षको एक छोरा पनि छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले यो घटना निक्कै आश्चर्यजनक भएको बताए । ‘अहिलेसम्म कि त स्तन पुरै काटिएको वा छुरी रोपेर कर्तव्य गरेको घटना थियो, यसरी निप्पल मात्र काटिएको यो अचम्मलाग्दो घटना छ,’उनले भने,’फरेन्सिक विज्ञहरुसँग राय लिइरहेका छौं, अनुसन्धानको क्रममा छौं ।’

यो घटनालाई बुझ्न बिहिबार १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट एसएसपी शेखर कोइराला र धरानस्थित संघीय प्रहरी इकाईका एसएसपी सौरव राणा पनि प्रतिष्ठानको आकस्मिक कक्षमा आएका थिए । दुवैले पीडितको स्वास्थ्य स्थिति र घटनाबारे सामान्य जानकारी लिएका थिए ।

प्रतिष्ठानको फरेन्सिक विज्ञले पीडित महिलाको स्तनको जाँच पनि गरेका थिए । विज्ञ डा.सिवेन्द्र झाका अनुसार निप्पल अचम्म गरि काटिएको छ । उनले भने, ‘ब्लेड जस्तो धारिलो हतियारले पनि होइन । अलिक भद्दा तरिकाले काटिएको छ, दाँत जस्तोले काटिएको देखिन्छ ।’ घटनाबारे भोजपुर प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया