धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या गरेका छन्।

स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन्। हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन्। शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीलाई बोलाएर दाइजोका कारण हत्या गरेको दाबी गरेका छन्। हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण हत्या गरेको आरोप लगाए।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं। त्यही झोंकमा हत्या गरेको छ।’ घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए। कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टम घरका राखिएको छ। शव नजिकै रगत बगेको छ। अस्पतालका चिकित्सकले समेत हत्या गरेको देखिएको बताएका छन्। नाम नछापिदिने सर्तमा एक चिकित्सकले भने, ‘कुटपिट गरेको दाग शरीरको विभिन्न भागमा देखिएको छ। मुखबाट रगत समेत बगेको देखिएको छ।’ कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो।विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ ताला चाँदी समेत दाइजो माइती पक्षले दिएको थियो।

शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ। धनुषाका एसपी शेखर खनालले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए। ‘पासो लगाएर आत्महत्या गर्न खोज्दा ससुराले उपचारका लागि अस्पताल ल्याएको भनिएको छ’, एसपी खनालले भने, ‘घटनाबारे बुझ्न प्रहरी पुगिसेको छ। अहिले हत्या हो कि आत्महत्या भन्न सकिँदैन।’ पोष्टमार्टमका रिपोर्ट नआएसम्म केही भन्न नसकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया