धरान । आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । यही मंसिर १४ गते धरान उपमहानगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुँदैछ ।

धरानको छाता चोकमा रहेको पुरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको लागि कार्यक्रम गर्ने तयारी गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

पक्राउ पर्नेमा उदयपुरका टिकाराम राई, धरानका पारक लिम्बु, मोहन लिम्बु, पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बु, रामबहादुर पौडेल, इटहरीका सन्तोष ठाकुर रहेको डिएसपी न्यौपानले बताए ।

प्रहरीका अनुसार उनीहरुको साथबाट एउटा साउन्डबक्स, एउटा वारलेस माईक, सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाको १५ थान पर्चा पनि बरामद भएको छ ।

उनीहरु मोर्चाको कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ३ जना केन्द्रीय सदस्य र ६ जना प्रदेश सदस्य रहेको बताईएको छ । संसदीय उपचुनाब बहिस्कार गरौं, संघीय गणतन्त्रको दिशामा अघि बढौ भन्ने नाराका साथ उनीहरुले उप निर्वाचन बहिस्कारको कार्यक्रम गर्न लागेका थिए ।

पक्राउ परेका सबैलाई आज अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाइएको डिएसपी न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया