alt

विराटनगर / अवैध रुपमा लागूऔषधको कारोबार गर्ने पक्राउ परेका छन् । भारतको जोगवनीबाट बिक्रीका लागि नेपालतिर लागुऔषध लिएर अवैध रुपमा विक्री वितरण गर्ने एक जना कारोबारी पक्राउ परेका हुन् ।

प्रहरीको लागुऔषध नियन्त्रण बिशेष ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–४ का २२ वर्षीय रवि साहलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई बुधबार राती विराटनगरबाट पक्राउ गरेको हो । शरीरमा लगाएका ज्याकेट, प्वाइन्ट लगायतका कपडाको गोजीहरुमा प्रतिबन्धित लागुऔषध राखेर साइकलमा नेपालतिर छिरेपछि उनी पक्राउ परेका हुन् । साहको साथबाट ठूलो परिणामको लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनका अनुसार गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा स्पास्मोप्रोक्सिभन दुई सय ८८ र नाइट्रोसन दुई सय ट्याब्लेट बरामद भएको छ । साह विरुद्ध बिहीबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको खिँउजुको भनाइ छ ।

‘भारतको जोगवनीबाट नेपालका विराटनगर, धरान, इटहरी लगायतका सहरमा बिक्रीका लागि लागुऔषध ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘बिक्रीका लागि लागुऔषध ल्याउने क्रममा उनी पक्राउ परेका हुन् ।’

चाँडो पैसा कमाउने लोभमा परेर उनले केही समयदेखि नियमित कानुनद्धारा बर्जित काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया