विराटनगर / सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लगेका सिद्धबाबा कृष्णदासजी महाराज विराटनगरको विराट नर्सिङ होममा आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै अस्पतालले आईसीयूमा भर्ना गरेको हो । विराटनगर आएको डीएसपी विनोद शर्मा नेत्रृत्वको टोली उनलाई पक्राउ गर्ने कि नगर्ने भन्ने दोधारमा छ । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । उनलाई छात्ती, मुटु तथा प्रोस्टेट तथा मृर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो । तर एकाएक मुटु र छात्तीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ः३० बजे आईसीयूको १० नम्बर बेडमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले बताए । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेत्रृत्वको चिकित्सक टोलीले सिद्धबाबाको उपचार गरिरहेको छ । विनारीले बोल्न नसक्ने अवस्थाका सिद्धबाबाको स्वास्थ्य गम्भीर रहेको बताए । ‘अवस्था नाजुक बनेका आईसीयूमै भर्ना गर्नु पर्ने अवस्था आयो,’ उनले भने, ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्न ।’

सिद्धबाबाले आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गरेका थिए । शनिबार साँझ संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्र र मानवहितका लागि चलाएको अभियानले सफलता प्राप्त गरिरहँदा आफूलाई ढलाउने आरोप लगाएर मर्माहत बनाएको बताएका थिए । उनले आरोप लगाउनेलाई कहिल्यै नदेखेको र नचिन्ने जिकिर गर्दै भनेका थिए, ‘नखाएको विष नलाग्ने भएकाले म भयवित र चिन्तित छैन ।’ उनले प्रहरीले गर्ने जुनसुकै अनुसन्धानलाई भने आफूले सहयोग गर्ने बताए । आफूले राष्ट्रप्रति गरेको उपकार र व्यवहारले सार्थकता पाउँदै गर्दा यति घृणित आरोप लाग्नुले आफैलाई आश्चर्यमा पारेको उनको भनाइ थियो । आरोप निराधार रहेको बताउने क्रममा उनी आँखा भरी आँसु बनाएर भक्कानिएका थिए ।

सिद्धबाबाले बलात्कारको अस्वीकार गरिरहँदा आरोप लगाउने महिलालाई फोनमार्फत उजुरी फिर्ता लिन बारम्बार आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ । तर उनले यो अडियो पनि आफ्नो नभएको जिकिर गरिरहेका छन् । आईसीयूमा भर्ना हुनु भन्दा केही बेर अघि संचारकर्मीसँग कुरा गर्दै उनले अडियो रेकर्डमा सुनिने आवाज आफ्नो नभएको जिकिर गर्दै यसको सत्थतथ्य छानबिन गरेर वास्तविकता पत्ता लगाउने आग्रह गरे । ‘मलाई फसाउन अर्कैको आवाजमा मेरो आवाज जस्तो बनाएर अडियो पनि बनाइएछ,’ उनले भने । पक्राउको तयारी गरिरहँदा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेर उपचार थालेपछि प्रहरी नै दोधारमा परेको छ । डीएसपी शर्माले सबै पक्षसँग आवश्यक रायपरामर्श लिएर अघि बढ्ने जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया