इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नो क्षेत्रका प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित सबै सडकको डीपीआर गर्ने प्रकृया अघि बढाएको छ ।

चिरौली चौकदेखि नहर चौकसम्म र बाबा पेपर मिलदेखि उत्तर तर्फ अकाहा बजार सम्मको सडक मात्रै कालोपत्रे रहेको भुटाहाबाट फूल चोकसम्म हुलाकी मार्गअन्र्तगत कालोपत्रे सडक निर्माण अघि बढीरहेको अवस्थामा गाउँपालिकाले बाँकी रहेका सबै वडालाई जोड्ने मुख्य बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित डीपीआर तयार पार्न लागेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिए ।

गाउँपालिकामा सडक पूर्वाधार विकासलाई प्राथमिकता दिंदै कालोपत्रे सहितको सडक निर्माणका लागि आवश्यक प्रकृया अघि बढाइएको उनले बताए ।

पहिलो चरणमा २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अनुरुपको प्रकृया चालिएको प्रशासकीय अधिकृत घिमिरेले बताए ।

गाउँपालिकाको कार्यालयले परिषद्बाट पारित योजनाअनुरुप कालोपत्रेको प्रकृया अघि बढाइएको जनाएको छ । बहुवर्षिय योजनाका रुपमा अघि बढाउन लागिएको कालोपत्रे सडकका लागि यसवर्ष १ करोड ३५ लाख रकम विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रत्येक वर्षको वार्षिक योजनामा समेटेर सडक कालोपत्रेको कार्यलाई अघि बढाउने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाई छ । उनका अनुसार सडक पूर्वाधारसँगै आवश्यकता अनुरुपका बिकास निर्माण र लक्षित वर्गका कार्यक्रमहरु क्रमवद्ध रुपमा सञ्चालनमा ल्याइने छन् ।

 

तपाईको प्रतिक्रिया