खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।

रावावेँसी-५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति अज्ञान समूहले आगो लगाएको हो। आगलागीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए।

प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताले गाडीमा आजगनी गरेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन्।

तपाईको प्रतिक्रिया