माेरङ / माेरङका पुराना पत्रकार जयप्रसाद दाहाल शंकास्पद अवस्थामा मृत फेला परेकाे छ । विराटनगर–२ शनिहाटमा रहेको  घरमा दाहाल आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् । परिवारसहित काठमाडौंमा बस्दै अाएका दाहाल शनिबार विराटनगर आएका थिए ।  दाहाल खेतिपाती उठाउन भन्दै काठमाडौंबाट अाएकाे छोरा गौरव दाहालले जानकारी दिएका छन् ।

काठमाडौंबाट विराटनगर आएकै रात उनि सुतेको कोठामा रहेको सिलिण्डर ग्यासको पाइपबाट आगो सल्किएर कपडा र खाटसहित उनको शरीरको केही भाग जलेको अवस्थामा आइतबार बिहान फेला परेपछि घटना शंकास्पद देखिएको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मृतक दाहालको आन्द्रा निस्किएको र घाँटीमा रेटिएको देखिन्छ, दुर्घटना भन्न सक्ने अवस्था नदेखिएपछि अनुसन्धानको काम सुरु गरिएको छ ।

केहि शंकास्पद अवस्था देखियोे, उपरीक्षक अधिकारीले भन्नुभयो–ग्यासको चुल्हो भान्सा कोठामा छ, ग्यासको सिलिण्डर मात्रै मृतक दाहाल सुतेको कोठामा छ । ग्याससहितको सिलिण्डर धुँवाले कालो भए पनि पाइपबाट सल्केको आगोले कपडा र खाटको केहि भाग बलेको छ । मृतक दाहाल खाटमा नभएर भँुईमा भेटिनु भएको थियो भने आगोले सिलिण्डर बिष्फोट भएको छैन ।

मोरङ प्रहरीले घटनालाई संदिग्ध मान्दै २७ वर्षदेखि दाहालको घरमा भाडा बस्दै आएका खाद्यन्न व्यापारी राधेश्याम दर्कलाई प्रारम्भिक सोधपुछका नियन्त्रणमा लिइएको छ । मृतक दाहालले आफ्नो घर बिक्री गर्ने बताएपछि व्यापारी दर्क चारदिन अगाडि मात्रै कोठा खाली गरेर सरेका थिए । त्यस बाहेक त्यहि घरको भुँइ तलामा समेत अन्य व्यक्तिहरु भाडामा बस्दै आएका भए पनि उनीहरु सबै सरिसकेका थिए । प्रहरीले पुराना भाडावालको समेत विवरण संकलन गरिरहेको छ ।

शनिबार साँझ दाहालले व्यापारी दर्ककै घरमा खाना खाएपछि घरसम्म छोड्न आफू नै गएको प्रहरीसँग दर्कले बताएका छन् । साँझ ७ बजेतिर छोडेर फर्केपछि बिहान पनि दर्क नै दाहालको घरमा पुग्ने पहिलो व्यक्ति रहेका छन् । दाहालको घरमा पुग्दा धुँवा आईरहेको देखेपछि दर्कले आफैंले ढोका फोरेर भित्रपसेपछि घटनाको बारेमा प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरीले घटनास्थललाई शिल गरेर दिनभर प्रमाणहरुको संकलन तथा अनुसन्धानका लागि कुकुर समेत झिकाएको थियो । धरानबाट झिकाएका कुकुरलाई घटनास्थल क्षेत्रमा घुमाइएको छ । प्रहरीले घटनालाई १२ वटा केन्द्र मानेर अनुसन्धान गरेको छ ।

शनिहाट उत्तर भित्र छिर्ने गल्लीको एकान्तमा रहेको घरको पूर्वतर्फको मूल ढोका भित्रैबाट बन्द रहेको अवस्थामा व्यापारी दर्कले खोलिसकेको भए पनि घरको बाहिरी परिसरको पश्चिम–उत्तर खण्डमा केहि शंकास्पद प्रमाणहरू प्रहरीले फेला पारेपछि चारैतर्फ घेरा हालेर घटनास्थललाई शिल गरेको हो ।

 

तपाईको प्रतिक्रिया