काठमाडौं । हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै बुधबार साँझसम्ममा नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेही प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुनेसमेत जनाएको छ ।

‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना छ’, महाशाखाद्वारा जारी बुलेटिनमा भनिएकाे छ ।

बुधबारबाट सुरु भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन सबैलाई पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया