विराटनगर/ विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन  लागि तत्काल एक कराेड रूपैयाँ बजेट विनियाेजन भएकाे हाे ।

आन्तरिक विमानस्थलको विकास तथा विस्तार गर्ने निती अनुरुप आर्थिक वर्ष २०७६–७७ को बजेटबाट एक करोड रुपैयाँ विनियोजन गरिएको कर्पाेरेट निर्देशनालयले विराटनगर विमानस्थललाई पठाएको पत्रमा उल्लेख छ ।

नागरिक स्तरबाट विमानस्थल स्तरोन्नतिका लागि पहल भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार गर्ने बताएका थिए । नागरिक उड्यन प्राधिकरण विराटनगरलाई केही दिनअघि काम अघि बढाउन पत्र पठाएको  छ ।

बजेट विनियाेजन भएकाे पत्र आएपछि जग्गा अध्रिग्रहणका लागि फोकल पर्सन तोकेर पर्याप्त बजेट विनियोजनका लागि नागरिक उड्यन प्राधिकरणमा पून पत्र पठाएको विराटनगर नागरिक उड्यन कार्यालयका प्रमुख टेकनाथ सिटौलाले बताए ।

गत १७ मंसिरमा विराटनगर विमानस्थल विस्तारका विषयमा पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितिमा विराटनगरमा छलफल भएको थियो । छलफलपछि मन्त्री भट्टराईले विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउने गरी काम अघि बढाउने बताएका  थिए  ।

विराटनगर विमानस्थलको धावनमार्गको लम्बाई हाल १५ सय मिटर रहेको छ । २५ सय मिटर लम्बाई बनाउँदा १५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । जग्गा अधिग्रहणका लागि न्यून बजेट आएका कारण नागरिक उड्यन प्रधिकरणलाई काम अघि बढाउन फोकल पर्सन तोक्नलाई आग्रह गरिएको सिटौलाले बताए ।

 

तपाईको प्रतिक्रिया