२८ मंसिर  धनुषामा गएराति बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । बम विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा राजेश साहकी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

शंकास्पदवस्तु भएको जानकारी प्राप्त भएसँगै सो स्थानमा प्रहरी पुग्दा बम विष्फोट भएको थियो । विष्फोटका कारण प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

तपाईको प्रतिक्रिया