इटहरी, सवारीसाधनको गति मापन गर्ने ४८ लाख १७ हजार १ सय ९० रूपैयाँको ७ सेट ‘राडार गन’ १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीलाई प्रदेश सरकारले प्रदान गरेको छ ।
सडक सुशासन कार्यक्रम अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले राडार गनसहित अन्य सामग्रीहरू प्रदान गरेको हो ।
प्रदेश सरकारले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न तीनवटा सामग्री ७७ लाख ९ हजार ९ सय ९० रूपैयाँ खरिद गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो । प्रदेश सरकारले २४ लाख ६३ हजार ४ सय रूपैयाँमा ब्रेथलाइजर २० सेट र ४ लाख २९ हजार ४ सयमा ह्वील लक १ सय सेट प्रहरीलाई प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
उक्त सामग्री आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुरप्रसाद ज्ञावलीमार्फत् प्रदेश ट्राफिक प्रमुख एसपी भीमबहादुर दाहाललाई हस्तान्तरण गरेका थिए ।