सुनसरीको धरानस्थित शिवधाराबाट गोली हानेर प्रहरीले मंगलबार राति २ गाडी गाँजा नियन्त्रणमा लिएको छ ।
लागुऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ । गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
त्यस क्रममा चालक भाग्न खोजेका थिए । चालकलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । प्रहरीले २ वटा गाडीबाट ६ सय किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ ।
चालकमध्ये १ जना पक्राउ परेका छन् । अर्का फरार छन् । प्रहरीले गाडी नम्बर र चालकको नाम खुलाएको छैन । यस विषयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीको तयारी छ ।