कोरोना बिमा गराएकाहरुले बिमा बापतको भुक्तानी पाउनु पर्ने रकम सहज रुपमा नपाउदा झन्झट बेहोर्न बाध्य छन् ।
जोखिम वहन गर्न बिमा गरेपछि बिमितले सहज रुपमा पाउनुपर्ने उनीहरुको अधिकार हो। सबै कागजात पुर्र्याएर भुक्तानी दाबीको आवेदन दिदा समेत बिमा कम्पनीहरुले बिमितको रकम उपलब्ध गराउन आनाकानी गरेका कुराहरु बाहिरिरहेका छन् ।
बिमा समितिले सुरुमा सामाजिक उत्तरदायित्वका रूपमा कोरोना बिमा पोलिसी ल्याउन कम्पनीहरूलाई आव्हान गर्न साथ बिमा कम्पनीहरूले २०७७ वैशाख ७ गतेदेखि बिमा गर्न थाले। कोरोना संक्रमण भई भुक्तानी दाबी गर्ने बढेपछि भने जेठ १७ गते रोक्ने निर्णय गरे। तर, बजेटले महामारीबाट हुने सम्भावित जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न बिमासम्बन्धी व्यवस्था गर्यो। सरोकारवाला सबै बसेर त्यसको मापदण्ड बनाए। अर्थ मन्त्रालयको आग्रहमा यसलाई नियमित गर्न थालियो ।
त्यसपछि थालेको बिमा कार्यक्रम कम्पनीहरूले गत साउनदेखि रोके। भुक्तानी दाबीको निवेदन नै नलिने तयारीमा बिमा कम्पनीहरु पुगेका छन्। बिमा शुल्क धेरै उठ्ला र नाफा कमाउला भन्ने कम्पनीको सोच कोरोना बिमाले भने सम्भव भएन ।
सरकारले आफ्नो प्रतिवद्धता अनुसार रकम नदिदाँ कोरोना बीमा गराएका व्यक्तिहरुको अरबौं रुपैयाँ दाबी भुक्तानी रोकिएको छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले पूर्व सहमति अनुसार दिनुपर्ने दाबी भुक्तानी गरिसकेका भएपनि सरकारको दायित्वमा परेको रकम अर्थमन्त्रालयले नदिएपछि भुक्तानीमा समस्या आइरहेको छ ।
अहिले आएर सरकारको दायित्वमा परेको रकम निकासा हुन नसकेपछि कोरोना बिमाको भुक्तानी रोक्नुपरेको बताइएको छ। अहिले कोरोना बिमा भुक्तानी मापदण्ड अनुसार बिमा कम्पनी, पुनर्बिमा तथा बिमा कम्पनीहरूको महाविपत्ति कोष र बिमा समितिको दायित्वमा पर्ने दाबी भुक्तानी भइसकेको भनिएको छ । कोरोना महामारीपछि २०७७ वैशाखदेखि सुरु भएको कोरोना बिमाको २०७८ असार मसान्तमा म्याद समाप्त भएको छ। तर बिमितले भने १ बर्षदेखि नै धाइरहदा समेत रकम प्राप्त गर्न सकेका छैनन् ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी होस् या सर्वसाधारण ठूलो संख्यामा दावी भुक्तानीको प्रतिक्षामा रहेका देखिन्छन । बिमाको रकम प्राप्त गर्न सबै कागजी प्रक्रिया पुर्र्याएर पनि भुक्तानी नपाउदा हतोत्सायी बनिरहेका छन् । बिमा कम्पनीहरुको बिस्वासनियता माथि समेत प्रश्न उठिरहेको छ ।
मानिसहरुले सम्भावित जोखिनालाई मध्यनजर गरेर बिमा गरेका हुन्छन । जतिखेर आवश्यकता पर्दछ त्यतिखेर बिमा कम्पनीहरुले बिमितलाई रकम नदिदा बिमा प्रति नै त्यसले मानिसमा नकारात्मक छाप बसाउछ ।
सरकारले कोरोना संक्रमण भैसकेकालाई कोरोना बिमा बापतको रकम दिलाउन बिशेष पहल गर्न आवश्यक छ ।भएका नियमहरुलाई सहज बनाएर भएता पनि बिमा बापतको रकम बिमितले सजिलै र तत्कालै पाइहाल्ने व्यवस्था मिलाउन जरुरी छ ।