सुनसरी/सुनसरी प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै धरानबाट २०९ किलोभन्दा बढी गाँजासहित पाँच जना र इनरुवाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल मंसिर १६ गते बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडामा गाँजा लोड भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो। प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जनाएको छ। त्यसक्रममा प्रहरीले दुवै गाडीबाट लागूऔषध गाँजाजस्तो देखिने पदार्थ २०९ किलो ४२० ग्राम बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई दुईवटा स्कार्पियो गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र प्रसाद मण्डल, भारत बिहारको मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।
त्यस्तै, प्रहरीले मंसिर १५ गते दिउँसो करिब ४ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका उदयपुर बेलका नगरपालिका–४ का ३२ वर्षीय नवीन राई र २९ वर्षीय सुमन राईलाई शंकाका आधारमा जाँच गरेको थियो। जाँचका क्रममा नवीन राईको मलद्वारको भागबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।
दुवै घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।















