ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो ।
“खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सुकेर म¥यो”, उहाँले भन्नुभयो, “असार सकिन लागेपछि बाढी बग्ने गरी पानी त आयो तर बीउ छैन के रोप्नु ? त्यही मरेको बीउ सुम्सुम्याउँदै रोप्न थालेका छौँ, खेत बाँझो नहोेस् भनेर खडेरीले सुकेको बीउ पनि रोप्न बाध्य छौँ ।”
वर्षापछि जिल्लाका सबै क्षेत्रमा रोपाइँको काम धमाधम भइरहेको छ । लिखु गाउँपालिकाको पोकली, गाम्नाङटार, यसम, टारकेराबारी, मोलुङको हर्कपुर, प्राप्चा, रामपुर, सिद्धिचरण नगरपालिकाको रुम्जाटार, वर्णालु, खिजीदेम्बाको रगनी, चण्डेश्वरी खिजीकाती, चम्पादेवीको फूलबारी, बिलन्दु, चिशङखुको कुइभिर, सेर्ना मानेभञ्ज्याङको टोक्सेल, उँबु, बाक्सा र सुनकोशीको कटुञ्जे, सिस्नेरी बलखुका किसानलाई यतिबेला रोपाइँको चटारो छ ।