सर्वोच्च अदालतको फैसलाबाट सांसद पदका साथै उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका रवि लामिछाने पुनः रास्वपाको सभापति बन्नुभएको छ । काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टी बैठकको निर्णयानुसार केन्द्रीय सदस्य मनोनीत हुँदै उहाँ पुनः सभापति बन्नुभएको हो । सर्वोच्चले गत शुक्रबार उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उहाँको सांसद पद खारेज गरिदिएको थियो ।

आइतबार एकैदिन तीन वटा बैठक बसेर उक्त पार्टीले रवि लामिछानेलाई पार्टीमा पुनः स्वागत गर्नेदेखि केन्द्रीय सदस्यमा मनोनयन र पार्टी सभापति चयन गर्ने प्रक्रिया समेत पूरा गरेको थियो । बैठकपछि पार्टीका महामन्त्री मुकुल ढकालले काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टीको सदस्यता लिनेलगायतका आवश्यक प्रक्रिया पूरा भएको भन्दै केन्द्रीय समिति बैठकबाट लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको ढकालको भनाइ छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘उक्त बैठकलगत्तै अर्यालयकै सभापतित्वमा बसेको अर्को बैठकले लामिछानेलाई पुनः सभापति चयन गर्ने प्रस्ताव गरेको र सो प्रस्ताव पनि सर्वसम्मतले पारित भएको छ ।’ उहाँले आइतबार नै लामिछानेको सभापतित्वमा बसेको बैठकले यसअघि स्थगित भएको संगठन विस्तारको कार्यक्रमलाई आगामी माघ २१ गतेदेखि शुरू गर्ने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया